लिस्बन। गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष सुजन लामाले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई “नेपालको छोरा र संसारको गहना” भएको बताएका छन् ।
श्रद्धाञ्जली सन्देश जारी गर्दै अध्यक्ष लामाले निर्मल पुर्जाले आफ्नो अदम्य साहस, समर्पण र ऐतिहासिक उपलब्धिमार्फत नेपालको नाम विश्वभर उच्च बनाएको उल्लेख गरेका छन् । उनका अनुसार, नेपालमा जन्मिएका निर्मल पुर्जा संसारभरका लाखौँ मानिसका लागि प्रेरणाका स्रोत थिए र उनको योगदानलाई नागरिकताको आधारमा विभाजन गर्न नमिल्ने बताए ।
सामाजिक सञ्जालमा कतिपयले निर्मल पुर्जालाई विदेशीका रूपमा टिप्पणी गरेकोप्रति आपत्ति जनाउँदै अध्यक्ष लामाले “एक पटकको नेपाली, सधैँका लागि नेपाली” भन्ने धारणा व्यक्त गरेका छन् । उनका अनुसार, “निम्स दाइ जन्मका आधारमा नेपाली र कर्मका आधारमा बेलायती हुन्।” जन्मभूमि, भाषा, संस्कृति र राष्ट्रिय पहिचान कुनै पनि कानुनी नागरिकताभन्दा माथिको विषय भएको उनको भनाइ छ।
अध्यक्ष लामाले विदेशमा रहेका नेपाली मूलका नागरिक र उनीहरूका सन्तानको नेपाली पहिचान तथा वंशजको नागरिकता सुरक्षित हुनुपर्नेमा पनि जोड दिएका छन् । उनले आफ्नै मूलका नागरिकलाई विदेशीका रूपमा चिनाउने वा व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्न राज्यसँग आग्रह गर्दै नेपालका लागि योगदान पुर्याएका व्यक्तित्वप्रति सम्मान प्रकट गर्न सबैलाई अनुरोध गरेका छन् ।
यसै क्रममा अध्यक्ष लामाले यस्ता क्षमतावान् युवाहरू विदेश जान बाध्य हुनुको प्रमुख कारण नेपालमै अवसरको अभाव रहेको उल्लेख गर्दै, नेपाल राज्यले अबदेखि युवाले आफ्नै देशमा आफ्नो क्षमता, सीप र प्रतिभा प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले अवसरको खोजीमा सक्षम र प्रतिभाशाली युवाशक्ति विदेश पलायन हुने अवस्थाको अन्त्य गर्न राज्यले दूरदर्शी नीति, पर्याप्त लगानी र रोजगारीका अवसर सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे।
पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा निर्मल पुर्जाको निधन भएको हो । उक्त घटनामा उनीसहित १० जना बेपत्ता भएका थिए। निर्मल पुर्जाले स्थापना गरेको श्रेष्ठ अभियान नामक संस्थाले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी सार्वजनिक गरेको जनाएको छ ।
अन्त्यमा अध्यक्ष लामाले निर्मल पुर्जाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा सम्पूर्ण नेपालीप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, उनले निर्मल पुर्जाको साहस, समर्पण र राष्ट्रप्रतिको योगदान नेपाली इतिहासमा सधैं स्मरणीय रहने विश्वास व्यक्त गरेका छन् ।